२०८२ वैशाख ०२ गते
ग्वाङ्ग्जाओ । नेपाली तथा चिनियाँ अधिकारी एवम् उद्यमीहरूले दुई मुलुकहरूबीच सूचना प्रविधिको क्षेत्रमा आपसी सहकार्य अरू बढाउन आह्वान गरेका छन्।
चीनको ग्वाङ्ग्जाओस्थित नेपाली महावाणिज्यदूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरूले स्टार्टअपहरु लाई सहयोग गर्न र लगानी अभिवृद्धि गर्न आह्वान गरेका हुन् ।
‘नेपाल–चीन प्रविधि सम्बन्ध सुदृढ गर्न नवप्रवर्तन र लगानी प्रवद्र्धन’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै ग्वाङ्ग्जाओस्थित नेपाली महावाणिज्यदूत भरत खनालले नेपालमा डिजिटल रूपान्तरण भइरहेको उल्लेख गर्दै कृषि, पर्यटन, उत्पादन र वित्तीय सेवाजस्ता विविध क्षेत्रमा प्रविधिको माग बढ्दो क्रममा रहेको बताए ।
उनले भने, ‘सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष प्रवेश गर्दै छ। आज यो सम्बन्ध व्यापार, पूर्वाधार तथा प्रविधि क्षेत्रमा गतिशील साझेदारीमा रूपान्तरण हुँदै छ। चीनले कृत्रिम बुद्धिमत्ता (एआई), फाइभजी र डिजिटल अर्थतन्त्रमा हासिल गरेका उपलब्धिहरू प्रेरणादायी छन्। हामी नेपालको उदाउँदो प्रविधि क्षेत्रलाई तपाईँहरूको दक्षतासँग जोडेर दुवै देशलाई फाइदा हुने समन्वय सिर्जना गर्न चाहन्छौँ ।’
महावाणिज्यदूत खनालले हालै नेपालको सङ्घीय सांसदबाट सूचना प्रविधि (आइटी) क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य र लगानी प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ कानुनहरू पारित भएको जानकारी दिँदै सरकारले प्रविधिको सम्भावनालाई उपयोग गर्न रूपान्तरणकारी पहलहरू अघि सारेको बताए ।
उनले चिनियाँ लगानीकर्ता र प्रविधि विज्ञहरूलाई नेपालको उच्च वृद्धिदर भएका क्षेत्रहरू—जस्तै सफ्टवेयर विकास, सूचना प्रविधि सेवा र कृत्रिम बुद्धिमत्ता (एआई)—मा लगानी गर्न, अनुसन्धान र विकासका लागि प्रविधि केन्द्रहरूसँग सहकार्य गर्न तथा शैक्षिक तथा औद्योगिक कार्यक्रमहरूमार्फत ज्ञान आदानप्रदान गर्न पनि आह्वान गरे ।
खनालले भने, ‘आउनुहोस्, प्रविधिबाट हाम्रो सम्बन्धलाई अझ बलियो बनाऔँ। नेपाल सरकार नीतिगत सुधार, लगानी सुरक्षाको प्रत्याभूति र सहकार्यको वातावरण बनाउन प्रतिबद्ध छ । हामी प्रविधिको क्षेत्रमा ज्ञान र अभ्यास साझा गर्न अनुकूल वातावरण बनाउने लक्ष्य राख्छौँ। डिजिटल युगमा नवप्रवर्तन नै आर्थिक विकास र सामाजिक रूपान्तरणको मूल चाबी हो। हामी एक अर्काबाट सिक्ने, सँगै नवप्रवर्तन गर्ने र नेपाल–चीन मित्रता तथा सहकार्यलाई सुदृढ बनाउने यो अवसरको उपयोग गरौँ ।’
कार्यक्रममा बेलायतमा मुख्यालय रहेको आइटी परामर्श तथा साइबर सुरक्षा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले ‘नेपालः प्रविधिको उदाउँदो केन्द्र’ विषयक प्रस्तुतिमा नेपालमा हरेक वर्ष सूचना प्रविधिका हजारौँ स्नातकहरू उत्पादन भई रहेका, ८५ हजारभन्दा बढी फ्रीलान्सरहरू सक्रिय रहेका र झन्डै चार करोड डलर बराबरको डिजिटल अर्थतन्त्र रहेको बताए ।
उनले भने, ‘नेपाल भारत र चीनबीचको सस्तो, स्वच्छ ऊर्जा भएको प्रविधि गन्तव्य हो र नेपालमा एआई, डिजिटल पूर्वाधार, हरित प्रविधि जस्ता चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ) सँग मेल खाने साझा रुचिका क्षेत्रहरू पनि छन् । हुवावे नेपालमा ४ जी र ५ जी कनेक्टिभिटी कार्यरत छ। नेपाली फ्रीलान्सरहरूले चिनियाँ स्टार्टअपहरूका लागि एआई÷एमएल मोडलहरू निर्माण गरिरहेका छन्। विद्युतीय सवारी साधन, नवप्रवर्तन तथा शिक्षा आदानप्रदान कार्यक्रमहरू कन्फ्युसियस इन्स्टिच्युटमार्फत सञ्चालन भइरहेको छ ।’
चिनियाँ साझेदारहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई), फिनटेक र डिजिटल पूर्वाधारमा सहकार्य गर्न आह्वान गर्दै फुयाँलले दुई देशले मिलेर प्रविधिमा आधारित उत्थानशील एसिया निर्माण गर्न सक्ने बताए ।
‘नेपाल व्यवसायका लागि मात्र होइन, जिम्मेवार, समावेशी प्रविधि विकासमा अग्रणी बन्न तयार छ। चीनसँग मिलेर हामी लाखौँलाई सशक्त बनाउने डिजिटल सेतु निर्माण गर्न सक्छौँ ।’ उनले भने
प्रतिक्रिया