शेयर बजारमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

२०८१ माघ २७ गते

शेयर बजारमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ। यस साताको पहिलो कारोबार दिन पनि नेप्सेले गिरावटलाई नै निरन्तरता दिएको छ । आज नेप्से परिसूचक ११.४९ विन्दुले घटेर २६८८.३१ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.४२ प्रतिशतले घटेको हो ।

यस दिन नेप्सेका चार उपसमूहका परिसूचक बढेका छन् भने बाँकि नौ उपसमूहकिआ परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा ब्यापार उपसमूह रह्यो जसको परिसूचक १.३९ प्रतिशतले बढेको छ भने यस दिन सर्वाधिक घट्ने उपसमूहमा विकास बैंक उपसमूह रह्यो जसको परिसूचक १.३५ प्रतिशतले घटेको छ।

नेप्से परिसूचक घटेसंगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन आठ अर्ब ९५ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०५ स्टकको ८४ हजार दुई सय ८० पटकको कारोबारमा आठ अर्ब ३९ करोड बराबरको किनबेच भएको छ । जसमा ६९ कम्पनीका शेयर बढेका छन् भने १६७ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी छ कम्पनीका शेयर स्थिर रहेका छन् ।

आइतबार सर्वाधिक बढ्नेमा सेन्ट्रल फाइनान्स र गर्डियन माइक्रो फाइनान्स रह्यो जसको शेयर दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा सप्तकोशी विकास बैंक रह्यो जसको शेयर ६.५२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेड रह्यो जसको ३१ करोड १६ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा अरुण भ्याली हाइड्रोपावर रह्यो जसको चार लाख ७६ हजार कित्ता शेयर किनबेच भएको छ।