सुनकोशी मरिन डाइभर्सन ब्रेकथ्रु : मधेश प्रदेशका ५ जिल्लामा वर्षैभरि सिंचाई हुने

२०८१ वैशाख २६ गते

सुनकोशी मरिन डाइभर्सन ब्रेकथ्रु : मधेश प्रदेशका ५ जिल्लामा वर्षैभरि सिंचाई हुने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएसँगै राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने  बताएका छन् ।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कान ढुङ्ग्रीमा सुरुङ ‘ब्रेक–थ्रु’ गर्दै  प्रधानमन्त्री दाहालले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरे । “यस आयोजनाले मधेस प्रदेशका पाँच जिल्लाका उर्वर भूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्नुका साथै बिजुली  उत्पादन हुनेछ,” प्रधानमन्त्री दाहालले भने, “आज सुरुङको ‘ब्रेक–थ्रु’ भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।”

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आयोजनाहरू सम्पन्न हुँदा उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, “सुरूङमार्गको ब्रेक–थ्रु सम्पन्न हुँदा हामी सबैमा नयाँ ऊर्जा र प्रेरणा मिलेको छ । ठूला पूर्वाधार निर्माणमा उत्साह थपेको छ ।”

कृषि क्षेत्र नेपालको आर्थिक विकासको मुख्य मेरुदण्ड हुनुका साथै कुल ग्राहस्थ उत्पादनमा झन्डै एक तिहाइ योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले देशका लागि आवश्यकपर्ने खाद्यान्न आपूर्तिमा आत्मनिर्भर हुन, खाद्य सुरक्षाको सुनिश्चित गर्न, जनताको आर्थिक उत्थान र समृद्धिका साथै गरिबी न्यूनीकरण गर्न कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि अपरिहार्य रहेको बताए । नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेश तथा भित्री मधेसभित्र नै पर्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तराई–मधेश क्षेत्रमा विकास भई सञ्चालन भइरहेका सिँचाइ आयोजनाहरू नदी बहाव प्रणालीमा आधारित रहेका बताए ।

हिमनदीहरूको पानी कृषि उत्पादनका लागि प्रयोग गरिनुपर्ने बताउँदै उनले सोही पानीको स्रोतलाई जलविद्युत् उत्पादन, खाने पानीलगायत अन्य प्रयोजनमा प्रयोग गरी राष्ट्रको समग्र विकास गरिने उल्लेख गरे । प्रधानमन्त्री दाहालले ठूला पूर्वाधारहरूको सफल निर्माणबाट नै नेपालमा सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल हुने भएकाले आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिए। उनले देशको रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजनालाई प्रभावकारी रूपमा सम्पन्न गर्ने कार्यमा आ–आफ्नो ठाउँबाट समन्वय र सहयोग गर्न अपील गरे ।

यस आयोजनाको सफल कार्यान्वयनबाट जलस्रोत तथा सिँचाइ क्षेत्रमा कार्यरत प्राविधिकहरूको नयाँ प्रविधिको उपयोग गर्दै प्राविधिक दक्षता हासिल गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलस्रोतको संयोजनात्मक रूपमा उपयोग गरी उर्वर भूमिबाट कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आयातको असन्तुलन कम गर्न मद्दत पुग्ने बताए । आयोजना सञ्चालनपश्चात् सुनकोशी र तामाकोकी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्याको बहुआयामिक विकास हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस क्षेत्रमा माछा पालनदेखि आन्तरिक तथा बाह्य पर्यटनको उल्लेख्य वृद्धि एवं मनोरञ्जन तथा ताल-जलाशयमा पर्यटन व्यवसाय फस्टाउने बताए ।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सिमानाबाट सुनकोशी नदीको पानीलाई १३ दशमलव ३ किलोमिटर लामो सुरुङमार्फत मरिन नदीमा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ आयोजनामा पुर्याउने छ । हाल सिँचाइ भइरहेको ४५ हजार ६०० हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको प्रमुख उद्देश्य रहेको छ ।